भिनय र फिल्म निर्माण हुँदै डकुमेन्ट्री र म्युजिक भिडियो निर्देशनलाई समेत करियर बनाउँदै आएकी छिन् सुन्दरताकी धनी रोशनी केसीले। डाक्टर खाते, जानी नजानी जस्ता फिल्म निर्माण गर्दै आएकी नायिका केसीले हालैमात्र एक राष्ट्रिय गीतमाथि दर्जनौं कलाकार तथा प्रतिष्ठित व्यक्तिहरुलाई समावेश गरी म्युजिक भिडियोे निर्देशन गरेर चर्चा कमाएकी छिन्। अभिनय, निर्माण र निर्देशन गरी तीनै क्षेत्रमा आफ्नाे उपस्थिति र पहिचानलाई दरिलो बनाउँदै आएकी उनै रोशनीस“ग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

रश्मी थापा

हिजोआज के गर्दै हुुनुहुन्छ?भर्खरै मात्र देविका बन्दना र राजन ईशानको स्वरको त्यही सच्चा नेपाली बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्देशन गरेको छु। यस गीतको म्युजिक भिडियोमा शताब्दी पुरुष सत्यमोहन जोशीदेखि लिएर नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर जस्ता नेपाली फिल्मका हस्तीहरु तथा अहिलेका पुस्ताका कलाकारहरुलाई लिएको छु। त्योबाहेक नयाँ फिल्मको लागि स्क्रिप्ट पनि हेरिरहेकी छु।

धेरै कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्वलाई लिएर यो राष्ट्रिय गीतमाथि म्युजिक भिडियो निर्देशन गर्नुभयो। त्यसको अनुभव सुनाउनुस् न। एक हिसाबले यो गीतको म्युजिक भिडियोलाई ऐतिहासिक काम नै भन्छु। अहिलेसम्म यतिका कलाकार लिएर निकै कम म्युजिक भिडियो बनेको होला। त्यसमाथि अहिले कोभिडको जोखिमका कारण धेरै कलाकार जुटाउनु चुनौतीपूर्ण काम थियोे।

हामीले धेरै कलाकारलाई भनेका थियाैँ। तीमध्ये कसैको समय मिलाउन गाह्रो हुने, एक जनाको समय मिल्दा अर्कोको नमिल्ने जस्ता समस्याहरु भयो। देशभक्तिको गीत भएकाले भोलिन्टरका रूपमा नै कलाकारलाई काम गराउन पर्ने थियो।

यस कारण देविका दिदी र मैले विभिन्न कलाकारलाई सहकार्यका लागि अनुरोध ग-याैँ। उहाँहरुले पनि सहकार्य गर्नुभयो। काम संघर्षपूर्ण नै रह्यो। तर लिभिङ लिजेन्डलगायतलार्ई लिएर राष्ट्रका लागि कलाको माध्यमबाट केही गर्ने मौका पाएँ, यसमा खुसी छु। कामबारे प्रशंसा पाइरहँदा खुसी छु।


अभिनयसँगै निर्देशनमा पनि देखिन थाल्नुभयो। फिल्म भएर निर्देशनमा लाग्नुभएको हो या विस्तारै फिल्म निर्देशक बन्नेतर्फको कदम हो?

निर्देशन नै गर्छु भनेर सोचेर निर्देशनतिर आएको होइन। गायिका देविका बन्दना दिदी र मेरो बेला–बेलामा कुरा भइरहँदा लकडाउन र कोरोनाका कारण हाम्रो क्रियटिभ माइन्ड प्यासिभ हुने भयो। हामीले राष्ट्र र समाजका लागि केही गर्नुपर्छ। झन् अहिले देशको राजनीतिक माहोल पनि त्यस्तै छ।

यस कारण राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पनि झकझक्याउने खालको काम गराैँ भन्ने सोचिरहेका थियाैँ। यहीबीच आनन्द अधिकारी दाइले राम्रो शब्द भएको गीत रचना गरेर सहयोग गर्नुभयो भने निर्माता चिजकुमार श्रेष्ठले पनि राष्ट्रियतासम्बन्धी केही गरौं भन्ने सोच्नुभएको रहेछ। उहाँले पनि म गीतमा लगानी गर्छु, तिमी निर्देशन गर भनेर निर्देशनको जिम्मा दिनुभयो। यही कारण पनि मैले निर्देशन गरेको हो।

डकुमेन्ट्री र म्युजिक भिडियो त निर्देशन गरिरहनुभएको छ। अब फिल्म निर्देशन पनि गर्ने हो त?

हामी कलाकार, निर्मँता र निर्देशक एउटै बक्सभित्र हुन्छौं। तर, कामको हिसाबले फरक जिम्मेवारी हुन्छन्। म यही क्षेत्रमा भएकाले भविष्यमा फिल्म निर्देशन गर्ने सम्भावना त छ, तर अहिले नै फिल्म निर्देशनबारे केही सोचिसकेको छैन।

अभिनय, निर्माण र निर्देशनमा के गर्न सजिलो र के गर्न गाह्रो रहेछ?

अभिनय गर्न सजिलो नि। किनभने अभिनय गर्दा म कुन भूमिका गर्दै छु, त्यसमा ध्यान दिएर त्यही पात्रलाई मात्र फोकस गरे पुग्छ। निर्मात्री भएपछि सम्पूर्ण टिमलाई नेतृत्व गरेर सबै जिम्मेवारी बहन गनुपर्छ।

त्यस्तै निर्देशकले पनि होल प्याकेजलाई सही ढंगले लिड गर्नुपर्ने हुन्छ। त्यसैले निर्देशकलाई क्याप्टेन अफ द सिप पनि भनिन्छ। कामको हिसाबमा यी तीनमध्ये अभिनय नै सजिलो काम हो।

यतिको फिट र राम्री हुनुहुन्छ फिटनेस र सुन्दरतालाई कसरी मेन्टेन गरिरहनुभएको छ।

कतिपय कुरा गड गिफ्टेड नै हुन्छन् भने कतिपय कुरा आफूले मेन्टेन गर्नुपर्छ। स्वास्थ्य र सौन्दर्यका लागि सबैभन्दा ठूलो कुरा भनेको सकारात्म्क सोच नै हो। म सकारात्मक सोच राख्छु।

त्यस्तै फिट रहनका लागि जिम जान्छु, कसरतहरु गर्ने गर्छु भने स्वस्थ रहन न्युट्रिसनयुक्त र स्वस्थ खानपानमा ध्यान दिन्छु। समयमा खाना खान्छु। बेलुका ६/७ बजे खाना खाइसक्छु भने पार्टीहरु परेका बेला पनि लिमिटेड खानपान गर्छु।

फिल्म निर्माणले लाभ दिएको छ या हानि गराएको छ?

फिल्म क्षेत्र भनेको एउटा एडिक्सन रहेछ। एकचोटि लागेपछि लागिरहन मन लाग्ने। फिल्म हिट होस् या सुपर फ्लप नै किन नहोस्? अर्को फिल्म निर्माण गर्न मन लाग्दोरहेछ। फिल्मबाट लाभ र हानिभन्दा पनि राम्रो फिल्म बनाउँ भन्ने कोशिस गर्दै आएको छु।

सडक बालबालिकालाई नै लिएर रिहर्सल गराएर डाक्टर खाते बनाएँ। फिल्म सन्देशमूलक भएकाले राम्रो प्रशंसा पाएँ। त्यस्तै रोमान्टिक कथामा जानी नजानी बनाएँ। जसमा नेपाली ढाकाको कपडाको प्रमोशन गरौं भन्ने उद्देश्यले ढाकाको कपडा प्रयोग ग-याैँ। पहिले ढाकाको चोलो र टोपी मात्र बनाउने चलन थियो। अहिले ढाकाको फेसनेवल ड्रेसहरु बन्न थालेका छन्। यो फिल्मबाट ढाकाको प्रमोसन नै भएको छ, यसलाई लाभ नै भनौं न।

हालसम्म फिल्म निर्माणबाट कमाउनुभयो या गुमाउनुभयो?

कमाएकै छु। फिल्मबाट सोचेजस्तो कमाइ नभए पनि लगानी नै नउठेको अवस्था भने छैन। फिल्मबाट नउठे पनि अरू व्यवसायबाट ल्याएर पनि फिल्ममा हालिन्छ।

फिल्मकर्मीलाई कसैले तपाईंको काम राम्रो लाग्यो भनेर भनिदियो भने पनि खुसी लाग्दोरहेछ। फिल्मकर्मीका लागि सबैभन्दा ठूलो कुरा दर्शकको ताली नै हो। त्यसको अगाडि कमाएको वा गुमाएको भनेर सोचि“दैन।

तपाईं अहिलेको अवस्थामा पनि फिल्म बनाउन तयार हुनुहुन्छ?

हुन त अहिले सबै क्षेत्रमा अन्योलको स्थिति नै छ। अरू जस्तै फिल्म क्षेत्र पनि विस्तारै माथि उठ्दै छ। यसलाई माथि उठाउनु हामी फिल्मकर्मीकै दायित्व हो। फिल्म क्षेत्रलाई अगाडि बढाउनु छ भने यत्तिकै बस्ने कुरा पनि भएन।

हामी सबै फिल्मकर्मी जागरुक बन्नुपर्छ। फिल्म क्षेत्र पनि अन्य क्षेत्र जस्तै विस्तारै अगाडि बढ्दै जानेछ भन्ने सोच राखाैँ। हामीले यो अवस्थामा पनि फिल्म बनाउनुपर्छ। तर, मचाहिँ अहिले स्कृप्ट हेर्दै छु अब विस्तारै फिल्म निर्माण गर्छु नै।

अब कस्तो फिल्म बनाउने सोचाइमा हुनुहुन्छ?

म रास्ट्रवादी सोचको मान्छे हुँ। त्यसैले अब नेपाली इतिहास र भेषभूषा समावेश गरेर रास्ट्रवादी फिल्म निर्माण गर्ने सोच छ। फिल्मको माध्यमबाट रास्ट्रलाई पनि केही दिन सकियोस् र आफूले पनि गौरव महशुस गर्न सकियोस् भन्ने लागको छ।

यही कारण पछिल्लो समय नेपालको इतिहास भूगोल आदिबारे अध्ययन गरिरहेकी छु। यसैलाई फोकस गरेर फिल्म निर्माण गर्ने सोच छ। तर, हेराैँ काम गर्दै जाँदा पछि कस्तो फिल्म बन्छ।

अहिले कोरोना जोखिमका कारण फिल्मको व्यापारमा ह्रास आएको छ। यो समयमा कसरी अगाडि बढ्नुपर्ला?

बाहिर हेर्ने हो भने कोभिडको कुनै असर नै छैन। तर, हलभित्र दर्शक त्यति आउनुभएको छैन। बन्द हलभित्र कोभिड संक्रमणको डरका कारण दर्शक डराउनुभएको पो हो कि? हामीले हलभित्र डब्ल्यूएचओले तोकेको सम्पूर्ण स्वास्थ मापदण्ड अपनाएका छाैँ भनेर दर्शकलाई विश्वास दिलाउन सक्नुपर्छ।

साथै फिल्मकर्कीले दर्शकको रुचिअनुसारका फिल्म दिन सक्नुपर्छ भने दर्शकले पनि नेपाली सिनेमालाई माया गर्नुपर्छ। अहिलेसम्म पनि सरकारले नेपालमा नेपाली फिल्मलाई मान्यता दिइसकेको अवस्था छैन। सरकारले फिल्म क्षेत्रलाई ध्यानमा राखेर कुनै पनि कार्यक्रम ल्याएको छैन।

अहिले जति पनि फिल्मकर्मी तथा लगानीकर्ता छन्, सबै आ–आफ्नै बलबुतँमा काम गरिरहेका छन्। झन् कोभिड–१९ बाट थलिएको फिल्म क्षेत्रले राहत मससुस गर्ने अवस्था छैन। सरकारले फिल्मकर्मीलाई सम्मान, सुरक्षा र पहिचान दिनुपर्छ।

लकडाउन र कोरोनाका कारण धेरै क्षेत्र प्रभावित भएको छ। यसले तपाईंको व्यक्तिगत तथा फिल्मी करिअरमा कतिको असर गर्यो?

लकडाउनको पहिलो चरणमा त हामीलाई कोरोना भाइरस र यसको संक्रमणबाट लाग्ने कोभिड–१९ का बारेमा राम्रोस“ग थाहै थिएन, बुझ्दै थियौं। शुरुमा वर्षौंपछि घर–परिवारको साथमा बस्न पाउँदा निकै खुसी थियाैं।

यसलाई लकडाउनको सकारात्मक पक्षको रूपमा लिऔं। फिल्म क्षेत्र तथा अन्य आय आर्जनको बाटो त ठप्प नै थियो, आर्थिक हिसाबले सबै क्षेत्रको हालत उस्तै थियो। लकडाउन लामो चरणमा गएपछि घरभित्र मात्र बस्दा अपसेट फिल हुन थाल्यो।

कतिपय मानिस त डिप्रेसनमा गएर आत्महत्या नै गरेको समाचारहरु पनि आए। मैले पनि यसरी एकोहोरो घरमा यतिकै बस्दा दिमाग निस्क्रिय हुन्छ केही गर्नुपर्छ भन्ने सोच राखें। त्यहीअनुसार नै त्यही सच्चा नेपाली गीतको काम गरिएको हो।

अबको योजना के छ?

म फिल्मकर्मी हो फिल्म नै बनाउने भन्ने सोच छ। अबको फिल्म नेपाली भेषभूषा र इतिहासलाई समावेश गरेर रास्ट्रवादी फिल्म निर्माण गरौं भन्ने सोचमा छु। हेराैं पछि कुन स्क्रिप्टमा बन्छ ? सोचेको जस्तो हुन्छ कि हुन्न?