काठमाडौं– गायिका देविका बन्दना तथा गायक राजन ईशानको एउटा नयाँ यूगल राष्ट्रिय गीतको म्युजिक भिडियो सम्पन्न भएको छ ।

अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन् ।

‘एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरुले अभिनय गरेको यो पहिलो पटक हुनुपर्छ, निर्देशक केसीले कलाकर्मीसंग भनिन्-‘चार दिन लगाएर यो भिडियोको छायांकन सम्पन्न गरिएको छ । भिडियोको छायांकनका लागि विभिन्न लोकेशनहरु प्रयोग गरिएको छ ।’

आनन्द अधिकारीको शब्द तथा राजन ईशानको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली…’ शीर्षकको उक्त गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गरेका छन् ।

रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् भने रेनिश फागोले यसमा कलर करेक्सन गरेका छन् ।

भिडियोमा सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुका साथमा गायिका देविका बन्दनाले समेत अभिनय गरेकी छन् ।

भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ भने चिज कुमार श्रेष्ठको प्रस्तुतिमा यो भिडियो तयार भएको हो ।

यो भिडियो आगामी साता सार्वजनिक हुने निर्देशक केसीले बताएकी छिन् ।